काठमाडौं— मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट चैत्र २८ गते प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एनजल गुरुङ, साहिल राई, शिव शंकर चौधरी र भुपाल राई रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट मोरङको बेलबारी नगरपालिका–४ का२१ बर्षीय एनजल गुरुङ र १९ बर्षीय साहिल राईलाई ७ सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले सुनसरीको रामधुनी नगरपालिका—२ का २४ बर्षीय शिव शंकर चौधरीलाई ५ ग्राम २ सय १० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।
अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले धनकुटाको सागुरीगढी गाउँपालिका–९ घर भई हाल धरानमा बस्दै आएका ३४ बर्षीय भुपाल राईलाई २८ किलो लागुऔषध गाँजासहित धरान उप–महानगरपालिका–११ स्थितबाट नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।