काठमाडौं— सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा ट्रकले किचेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छिन् । बाँके–सङ्ग्रामपुर सडकअन्तर्गत शुक्रबार बिहान ट्रकले किच्दा दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छन् ।
श्रीनगरबाट धनकौलतर्फ जाँदै गरेको ना. ५ ख ३८५८ नम्बरको ट्रकले किच्दा साइकल चलाइरहेकी ईश्वरपुर नगरपालिका–१३, श्रीनगर बस्ने १७ वर्षीया अन्जलीकुमारी महतोको घटनास्थलमै मृत्यु भएको हो भने साइकल पछाडि सवार १५ वर्षीया पूजाकुमारी महतो घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते पूजाको श्रीनगरस्थित स्वास्थ्य संस्थामा उपचार चलिरहेको प्रहरीले जनाएको छ । मृतक अन्जलीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए।
दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय केशरगञ्जको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।