काठमाडौं— अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ । अछामको साँफेबगर नगरपालिका–५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो ।
चैतेदशैंको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा अड्किँदा बेहोस भएका थिए । उनको उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्याइएको थियो ।

उनको उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिए ।
उक्त घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली उक्त स्थानतर्फ गएको उनले जानकारी दिए ।