काठमाडौं— सशस्त्र प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट १६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक र दुई जनालाई  पक्राउ गरेको छ ।

धनकुटाको शहिदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलाम जिल्लाको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गङ्गा बहादुर बस्नेतलाई शुक्रबार पक्राउ परेका हुन् । 

इलामबाट झापातर्फ आउँदै  गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा नम्बर १ बराह बाहिनी मुख्यालय र नम्बर २ गण झापा मातहत  सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । 

साथै उनीहरूको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद भएको छ । 

बरामद गाँजा, ट्रक र उनीहरुसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।