महोत्तरी । नगरपालिका भनिए पनि ग्रामीण बस्तीको मटिहानीमा प्रसूति गृह निर्माणले यहाँ सहज स्वास्थ्य सेवाको भरोसा जागेको छ ।

सुत्केरी गराउन टाढाका अस्पताल जान पर्ने र अर्थाभावले छटपटिनुपर्ने अवस्था अब नरहने आशले यहाँ सहज सुत्केरी सेवाबारे भरोसा जागेको हो । मटिहानी–६ मा निर्मित पाँच शै्याको प्रसूति गृहले चाँडै सेवा सञ्चालन गर्ने मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको आर्थिक स्रोतबाट करिब रु दुई करोडको लागतमा प्रसूति गृह निर्माण भएको हो । यसमा शल्यकृयाकक्ष, नवजात शिशुकक्ष, जनरल शैया कक्ष, स्टाफकक्ष र फार्मेसीकक्षसहित पाँच कोठा रहेका मटिहानी नगर कार्यपालिकाको कार्यालयको प्राविधिक शाखाका प्रमुख इञ्जिनियर विमलेश साहले जानकारी दिए ।

आफ्नै ठाउँमा प्रसूतिगृह निर्माणले अब सुत्केरी हुन र त्यसपछिको चिकित्सकीय सेवा सहज उपलब्ध हुने यहाँका महिलामा आश जागेको छ । ‘आब प्रसूतिक लेल बेसी दौडधूप नइ कर परत, अइस प्रसूति बेरके दिकत घटत से विश्वास जागल अइ’ (अब सुत्केरी गराउन कहाँ लाने भन्ने दौडधूप पर्दैन, यसले सुत्केरी गराउने बेलाका अप्ठ्यारा घट्ने विश्वास छ) मटिहानी–५ की अगुवा महिला अभिभावक सुनकेसी चौधरी भन्छिन् ।

प्रसूति गृह निर्माण सम्पन्न भएसँगै अब चाँडै सेवा सञ्चालनको प्रबन्ध मिलाइहाल्न सर्वसाधारणले नगरप्रमुख मण्डलसँग आग्रह गरेका छन् । प्रसूति गृहको सेवा चाँडै सुरु हुने नगरप्रमुख मण्डलको प्रतिबद्धता छ ।

मटिहानीमा निर्मित प्रसूति गृहबाट नगरपालिकाका नौ वटै वडा बस्ती, छिमेकका अन्य बस्तीहरू र छिमेकको नवनिर्मित प्रसूतिगृहसँगै जोडिएको भारतीय बस्तीका गरिब परिवारले सेवा पाउने नगरपालिकाका उपप्रमुख मञ्जुदेवी साहले बताए । यसअघि सात किलोमिटर दुरीको जलेश्वर अस्पताल र १५ किलोमिटर परको जनकपुरसम्म पुग्नपर्ने अवस्था हम्मेसी नपर्ने मटिहानीबासीमा आश जागेको छ ।