कञ्चनपुर । बाँदरले खेतबारीमा लगाएको तरकारी बाली खान थालेपछि शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान चिन्तित भएका छन् । बाँदर धपाउन स्थानीय किसानले दिनभर खेतबारीमा पहरा दिएपनि रातिको समयमा बाली नष्ट गर्न थालेपछि किसान चिन्तित भएका हुन् ।
बेलडाँडी क्षेत्रका अधिकांश किसानले तरकारीखेती गर्दै आएका छन् । ‘दिनमा खेतबारीमा बसेर बाँदर धपाउँदै आएका छौँ’, स्थानीय वीरबहादुर चौधरीले भने, ‘दिउँसो बारीमा पस्न नपाएका बाँदर राति लगाइएको सबै तरकारी बाली खाएर सखाप पार्न थालेका छन् ।’

बाँदरले मूला, आलु, सिमी, काउली, गोलभेँडा, मटरलगायत तरकारीमा बढी क्षति पु¥याएको उनले बताए । दुई कट्ठा जग्गाको तरकारी बाँदरले खाएको उनले जानकारी दिए ।
तरकारीखेती गर्दा जोताइ, बीउबिजन, गोडमेल, सिँचाइलगायतमा लागेको खर्च पनि नउठ्ने अवस्था आएको तेजबहादुर चौधरीले बताए । ‘तरकारी बेच्नका लागि तयार हँुदै गरेका बेला बाँदरको हुल बारीमा पसेर पूरै खाइदिन थालेपछि मार्कामा परेका छौँ’, उनले भने, ‘पहिले दिउँसो मात्रै दुःख दिन्थ्ये । अहिले राति खेतबारीमा पस्न थालेपछि पालैपालो पहरा दिनुपर्ने अवस्था सृजना भएको छ ।’ उनका अनुसार हालसम्म आठ जना किसानको झण्डै एक बिघा जग्गाको तरकारी बाली बाँदरले सखाप पारेको छ ।
समूहमा आएका बाँदरले बारीको तरकारी मात्रै नभएर घरभित्रको पिठो, चामल, धान, गहुँलगायत अन्न खाइदिन थालेका चन्द्रप्रसाद चौधरीले उल्लेख गरे । बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायसँग आग्रह गरिएको उनले बताए । सात सय बढीको सङ्ख्यामा बाँदर रहेका भन्दै समूहमा बस्ती पस्ने गरेका उनले जानकारी दिए ।
गाउँ नजिकैका रुखमा बस्ने बाँदरले रातभरि कराउने गरेकाले सुत्न नसकिने, अन्नबाली नष्ट गर्नेलगायत समस्या रहेको स्थानीय बच्चु चौधरीले बताए । ‘पहिले पनि बाँदर बस्ती नजिक आउथे’, उनले भने, ‘होहल्ला गरेर भगाउँदा बारीमा पस्दैनथे, सङ्ख्यामा थोरै हुन्थे, अहिले सङ्ख्या निकै बढ्दा आतङ्क मच्चाउन थालेका छन् ।’