काठमाडौँ :यही जनवरी ७ तारिख मङ्गलबार चीनको स्वायत्त प्रदेश सिचाङ अर्थात तिब्बतको तिङ्ग्री काउन्टीका गएको भूकम्पपीडितलाई तिब्बतमा बसोबास गर्ने नेपालीहरुले सहयोग प्रदान गरेका छन्। ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको हो।
ल्हासास्थित रेडक्रस कार्यालयमा जनवरी १० तारिख शुक्रबार आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यितोङलाई सहायता रकम हस्तान्तरण गरे।
ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार सहायता रकम ग्रहण गर्दै अध्यक्ष लियोले महावाणिज्यदूतावास, कल्याणकोष र नेपाली समुदायप्रति आभार व्यक्त गरे ।
सो अवसरमा अध्यक्ष लियो र महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको छ।