विराटनगर : मोरङको रंगेली र जहदामा एक जना बालकसहित २ जना मृत फेला परेका छन् ।
रंगेली नगरपालिका–८ स्थित दर्वेशाका विकास चुरैटेको १ वर्षीय छोरा समर चुरैटेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो पौन १ बजेतिर आफ्नै घरको कलको पानी जम्मा हुने खाल्डोमा डुबी घाइते भएका समरलाई तत्कालै उपचारका लागि रंगेली अस्पताल ल्याएर चिकित्सकले चेक जाँच गर्ने क्रममा सवा १ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दोहमनाको प्रहरी टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।त्यस्तै, जहदा गाउँपालिका–४ स्थित सिसौबारी टोलमा रंगेली नगरपालिका–२ बबियाबिर्ताका ३२ वर्षीय महेश हस्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सिसौबारी टोलस्थित रोडको नालामा तत्काल पहिचान नखुलको पुरुष व्यक्ति मृत अवस्थामा छ भन्ने खबर बिहीबार बिहान पौन ९ बजेतिर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय पोखरियाको टोली पुगेर घटनास्थललाई सुरक्षित बनाएको थियो ।
मृतकको पहिचान र घटनाको अनुसन्धान गर्ने क्रममा उनको पहिचान खुलेको हो । रुबिना मुर्मले मृत अवस्थामा भेटिएका हास्दा आफ्नो श्रीमान रहेको बताएकी थिइन् ।इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको टोलीले घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।