विराटनगर : सघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिव अनिल कुमार पोखरेललाई जिम्मेवारीबाट हटाएका छन् ।
एबीबीएस प्रवेश परीक्षा पास गराउने भन्दै ३८ लाख ८० हजार ठगी गरेको आरोप लागेपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका हुन् ।मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीलाई ठगी गरेका थिए ।
ठगीमा परेको भन्दै बौआलाले उजुरी दिन खोज्दा प्रहरीले उजुरी लिएन् । त्यसपछि उनी उच्च अदालत विराटनगरमा गएका थिए ।उनीविरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिव पदबाट हटाएका हुन् ।
सभापति पोखरेलले संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेको जानकारी गराएका छन् ।उनीमाथि लागेका आरोपहरुको अनुसन्धानमा सहयोग पुगोस् भनेर स्वकीय सचिव पदबाट निष्कासन गरेको व्यहोरा पत्रमा छ । साथै उनले निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनुपर्ने आफ्नो मान्यता रहेको पनि उल्लेख गरेका छन् ।