जितपुर  ।  बाराको जितपुर सिमरामा एउटा शव कारभित्र फेला परेको छ ।

शनिबार बिहान जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–११ स्थित सडकखण्डको छेउमा बागमती नम्बरको ०१–०२८–च–७६१६ नम्बरको कारमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ निवासी राजकुमार रुम्बाको शव कारमा फेला परेको बारा प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

घटनास्थलमा बाराका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्का नेतृत्वको टोली पुगेर अनुसन्धान थालेको छ । घटनास्थल पुगेका एसपी खड्काले तालिम प्राप्त कुकुरको टोली बोलाएर अनुसन्धान गरिने बताए । 

अमाडार सडक खण्डको बाटोको साइडमा रोकी राखिएको कारभित्र सो शव फेला परेको हो। टाउको पछाडि चोट लागेको जस्तो शव देखिएकोले हत्या गरिएको प्रहरीको अनुमान छ ।

एसपी खड्काका अनुसार जितपुरका रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए । उक्त कार सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर श्रीकान्त तिवारीको रहेको बताइएको छ । मृतक रुम्बाले इन्स्पेक्टर तिवारीबाट गाडी मागेर बाहिर निस्केका थिए।

रुम्बाको हत्या हो वा होइन त्यसबारे यकिन गर्नका लागि अनुसन्धान भईरहेको एसपी खड्काले  बताए ।