विर्तामोड़ । झापाको बिर्तामोड नगरपालिकाका पूर्वनगर प्रमुख (पूर्वमेयर) ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । घरमा काम गर्न राखिएकी १७ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
बिर्तामोड– ५ स्थित आफ्नै घरमा घरेलु कामदार राखेर पटक–पटक करणी गरेको आरोप शिवाकोटीमाथि छ । बालिकाको जाहेरीपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरेको हो ।झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार पीडित किशोरीका बुवा छैनन् । आमा भारतमा छन् ।
आमाले पनि दोस्रो विवाह गरेपछि शिवाकोटीले घरको काम गर्ने र पढाउने भन्दै बालिकालाई आफ्नो घरमा ल्याएका थिए । उनी प्राविधिक विषय पढिरहेकी थिइन् ।शिवाकोटीबाट पटक–पटक बलात्कृत भएकी किशोरी कलेजबाट भागेर आमा भएको स्थान भारतको आसाम जान खोज्दा आफन्त नेपालको काँकडभिट्टामा रहेको टोलीले रोकेर सोधपुछ गरेको थियो । सोधपुछको क्रममा शारीरिक शोषण भएको खुलेको हो ।
आफन्त नेपालले उद्दार गर्दा उनी कलेजको पोसाकमै थिइन् । त्यसपछि प्रहरीमा जाहेरी परेको थियो । शिवकोटी बि. सं.२०७४सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट प्रतिनिधित्व गर्दै बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
पक्राउ परेपछि शिवाकोटीलाई स्वास्थ्य परीक्षणका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ अस्वस्थ भएपछि उनलाई बीएण्डसी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । म्याद थपका लागि झापा जिल्ला अदालत लगिने प्रहरी स्रोतले जानकारी दिएको छ । त्यस्तै पीडित बालिकाको स्वास्थ्य परीक्षण गरएको छ ।