एजेन्सी । इन्स्टाग्राममा भेटिएकी प्रेमिकालाई बिहे गर्न दुबईबाट आएका बेहुला र १५० जना जन्तीसहित अलपत्र परेका छन् ।
भर्चुअल प्रेममा परेका २४ वर्षीय दीपक १५० जनाको जन्तीसहित बेहुलीले बोलाएको ठाउँ पुगेका थिए । तर, युवतीले भनेको ठाउँमा पुगेर सम्पर्क गर्दा फोन अफ गरी फरार भएपछि उनीहरू अलपत्र परेका हुन् । झन्डै तीन वर्षसम्म उनीहरूले इन्स्टाग्राममै च्याट गरे । फोटो आदान प्रदान गरे । यति बेलासम्म उनीहरूले भेटघाट भने गरेका थिएनन् । इन्स्टाग्राममा जोडिएर महिनौँ कुराकानी गरे । युवतीले आफू वकिल तथा अधिवक्ता भएको बताएकी थिइन् । अन्तिममा उनीहरूले आफ्नो प्रेम सम्बन्ध बिहेमा परिणत गर्ने योजना बनाए । र, आआफ्ना बुबाआमालाई फोनमा कुरा गर्न लगाए ।
सबै कुरा मिलेपछि त्यसपछि दीपक १५० जना जन्ती लिएर सहरमा पुगे । साँझ पाँच बजेसम्म पनि बेहुलीको तर्फबाट कोही नआएपछि पीडित बेहुला दीपकले स्थानीयलाई त्यस पार्टी प्यालेसका बारेमा सोधे । तर, त्यहाँ ‘रोज गार्डेन प्यालेस’नामको कुनै पार्टी प्यालेस नै नभएको पाइयो । दीपकको घर पञ्जाब राज्यको जलन्धार मन्दी भन्ने गाउँमा छ।
भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का अनुसार युवतीले पन्जाबकै मोगा भन्ने सहरकी बताएकी थीइन् । यतिसम्म कि युवतीले बिहेकै लागि भनेर दीपकसँग ५० हजार भारु मागेकी थिइन् । युवती पनि फोटोमा देखिएकी नै हुन् कि होइनन् भन्नेमा समेत दीपकलाई शङ्का लागेको छ । त्यस बाहेक उनको परिवार भनेकाहरू पनि नक्कली हुन भन्नेमा पनि उनको आशङ्का छ ।