विराटनगर । विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ हाटखोला बसपार्कनजिक दुर्घटना भएको हो ।
विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले बाटो क्रस गर्दै गर्दा मोरङको कानेपोखरी गाउँपालिका घर भएका अन्दाजी २६ वर्षीय माने भनिने मानबहादुर लिम्बूलाई ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर लिम्बू गम्भीर घाइते भएका थिए ।

उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको डीएसपी जोशीले बताए । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।ट्रकलाई नियन्त्रणमा लिइसकिएको र चालक फरार रहेकाले खोजी तीव्र पारिएको जानकारी जोशीले दिए । उनले घटनाको अनुसन्धान सुरु गरिएको बताए ।