एजेन्सी  ।   हिजबुल्लाहका प्रमुख नईम कासिमले इजरायलसँगको युद्धविराम सम्झौतालाई विजयको संज्ञा दिएका छन् ।लेबनानमा सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका प्रमुख कासिमले इजरायलसँगको युद्धविरामबारे पहिलो सार्वजनिक वक्तव्य दिँदै यो सम्झौतालाई हिजबुल्लाहका लागि ‘ठूलो विजय’ को संज्ञा दिएका हुन् । उनले लेबनानी जनताको धैर्यताको प्रशंसा पनि गरे ।म

मङ्गलबार इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सम्झौता भएको थियो, जुन बुधबारबाट लागू भएको हो । यद्यपि, दुवै पक्षबाट युद्धविराम उल्लङ्घनको आरोप लागेको छ । यो सम्झौता संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको थियो । सम्झौताको सर्तमा ६० दिनभित्र हिजबुल्लाहले ‘ब्लु लाइन’बाट आफ्ना लडाकु र हतियार फिर्ता लिने र इजरायली सेनाले चरणबद्ध रुपमा दक्षिणी लेबनानबाट फिर्ता हुने उल्लेख छ ।

OM Sai Pathibhara Hospital

हिजबुल्लाहका प्रमुख नईम कासिमले शुक्रबार राति जारी उक्त सन्देशमा युद्धविरामलाई समूहका लागि ‘ठूलो विजय’ अर्थात् २००६ को जुलाईको विजयभन्दा पनि महत्त्वपूण बताएका हुन्। हिजबुल्लाहसँग इजरायलको अन्तिम युद्ध सन् २००६ मा भएको थियो । उनले भने, 'हामीले जितेका छौँ किनभने हामीले सत्रुलाई हिजबुल्लाहलाई नष्ट गर्नबाट रोकेका थियौँ । किनभने हामीले प्रतिरोधलाई टुट्न हुन वा पराजित हुनबाट रोक्न सफल भएका छौँ, त्यसैले हामीले युद्ध जितेका छौँ ।'

उनले हिजबुल्लाको प्यालेस्टाइनप्रतिको आफ्नो समर्थन नरोकिने बताए । 'हामीले बारम्बार भन्दै आएका छौँ कि हामी युद्ध चाहँदैनौँ, तर हामी गाजालाई सहयोग गर्छौं र यदि इजरायलले युद्ध थोपर्‍यो भने हामी त्यसका लागि तयार छौँ,' उनले भने ।सम्झौताको घोषणाको समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामको उद्देश्य इजरायल र हिजबुल्लाहबीचको युद्ध अन्त्य गर्नु रहेको बताएका थिए । यस युद्धमा लेबनानका हजारौँ मानिस मारिएका छन् भने दुवै देशमा हजारौँ विस्थापित भएका छन् ।

यसैबीच, इजरायली सेनाले दक्षिणी लेबनानका ६० गाउँका बासिन्दालाई नफर्कन चेतावनी दिएको छ । इजरायली सेनाले लेबनानको दक्षिणी भागमा केही माइल भित्रका क्षेत्रहरू देखाउँदै नक्सा जारी गरी उक्त क्षेत्रमा तत्काल नफर्कन सर्वसाधारण लेवनानीहरूलाई आग्रह गरेको छ ।