काठमाडौं— काठमाडौं महानगरले गत शुक्रबार दरबारमार्गको सभाका क्रममा फोहोर गरेको भन्दै लगाएको जरिवानाको पत्र एमालेले बुझ्न अस्वीकार गरेको छ । महानगरपालिकाले एमालेलाई फोहोर गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयबारेको पत्र बुझाउन महानगर प्रहरी बलको टोली आइतबार दिउँसो एमाले पार्टी कार्यालय च्यासल पुगेको थियो । महानगर प्रहरी बलका इन्सपेक्टर किशोर भट्टराईकाअनुसार उक्त कार्यक्रम एमालेको केन्द्रीय कार्यालयले नगरेको भन्दै पत्र बुझ्न नमिल्ने जवाफ एमाले कार्यालय सचिवले दिएका थिए ।

OM Sai Pathibhara Hospital

सरकारको नेतृत्वमा रहेको दल नेकपा एमालेले शुक्रबार काठमाडौं उपत्यकास्तरीय प्रदर्शन तथा दरबारमार्गस्थित सडकमा जागरण सभा आयोजना गरेको थियो ।

सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । सभा सकिएलगत्तै काठमाडौं महानगरपालिकाले जागरण सभाका कारण सार्वजनिक स्थान सडकमा फोहोरमैला भएको र त्यहीकारण प्रदूषण फैलाउन मद्दत पुगेको भन्दै एमालेलाई पत्र पठाउने निर्णय गरेको थियो ।

महानगरपालिकाको नगर प्रहरीका निरीक्षक लिलाराज गाछाद्वारा हस्ताक्षरित एमाले केन्द्रीय कार्यालयलाई सम्बोधन गरेर लेखिएकोमा पत्रमा कानूनबमोजिम एक लाख रुपैयाँ जरिवाना तोकिएको उल्लेख छ ।

Ktm 1

'मंसिर ७ गते काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु,' महानगर प्रहरीका निरीक्षक गाछाले पत्रमा लेखेका छन् ।