काठमाडौं— बाग्मती सरकारको गौरवको आयोजनाका रूपमा रहेको पोष्टबहादुर बोगटी सुरुङमार्गको 'डीपीआर' दराजमै थन्किएको छ । एक करोड रुपैयाँ खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) दराजमा थन्किएको हो ।
तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भीमफेदी–कुलेखानी खण्डमा पोष्टबहादुर सुरुङमार्ग निर्माण गर्न 'डीपीआर' तयार भएको थियो । राजनीतिक अस्थिरताका कारण सुरुङमार्ग योजना अलपत्र छ ।
सरकारको निर्णयअनुसार आर्थिक वर्ष २०७७/७८ मा सुरुङमार्गको अध्ययन भयो र त्यसको कार्यान्वयन गर्न आयोजना कार्यालय पनि स्थापना भयो । तर ठेक्का लगाउने बेलामा सरकार फेरिएपछि त्यो अलपत्र छ ।
सरकार फेरिएसँगै सो आयोजना अघि बढाउने वा खारेज गर्ने टुङ्गो नलाग्दा मन्त्रालय नै अन्योलमा परेको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्रोतको सुनिश्चितता नगरी आयोजना अघि बढाइएकाले अन्योल भएको बताए ।
पहिला सुरुङमार्ग बनाउन कति खर्च लाग्छ, त्यो बजेट कहाँबाट ल्याउने हो त्यसको सुनिश्चितता गर्नपर्ने लामाको भनाइ छ । सङ्घ र प्रदेश सरकारको संयुक्त लगानीमा मात्र सुरुङमार्ग बनाउन सकिने भएकाले त्यसका लागि प्रयास भइरहेको उनले बताए ।