काठमाडौं— काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ ।
चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो ।
चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।
डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति रहेको जनाए ।