काठमाडौं–किराँत धर्मका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ मा इलाममा जन्मिएका फाल्गुनन्दले किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारमा उल्लेखनीय योगदान पुर्याएका थिए।

समाज सुधारका लागि फाल्गुनन्दले ‘सत्य धर्म मुचुल्का’ तयार पारे, जसमा सोत–रीतमा पैसा नलिनु, जीवहत्या नगर्नु, मद्यपान र मासु सेवन नगर्नुजस्ता नीति समेटिएका छन्। यसलाई १९८८ साल वैशाख २४ मा जारी गरिएको थियो। महागुरु फाल्गुनन्दले किराँत धर्मको संरक्षण र समाज सुधारमा जीवनभरि योगदान पुर्याए।

OM Sai Pathibhara Hospital

उनको योगदानको सम्मानस्वरूप नेपाल सरकारले २०६६ मङ्सिर १६ मा उनलाई राष्ट्रिय विभूतिको रूपमा घोषणा गरेको थियो। पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा लगायत पूर्वी नेपालमा उनको जयन्ती मनाइन्छ। यस अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दले देखाएको मार्गले राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्दै फाल्गुनन्द जयन्तीले सहिष्णुता, सद्भाव, र समाज सुधारमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।