काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि करिब पाँच महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि राति १० बजेबाट बिहान ८ बजेसम्म उडान बन्द गरेर विस्तारको काम सुरु गरेको हो।
विमानस्थलमा समानान्तर ट्याक्सीवे, इन्टरनेशनल एप्रोन, र ह्याङ्गर एप्रोनको विस्तार कार्यका लागि १५ अर्ब रुपैयाँ खर्च हुने जनाइएको छ। टीआईएको धावनमार्गसँगै ट्याक्सीवे बनाइँदैछ जसले उडान सुरक्षामा सुधार गर्ने अपेक्षा गरिएको छ।
नेपालमा हाल त्रिभुवनसहित तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। टीआईएको धावनमार्ग र क्षमता अभिवृद्धिका लागि विभिन्न समयमा उडान बन्द गर्दै मर्मत कार्य भइरहेको छ। विसं २०७५ र २०७७ मा पनि यो विमानस्थलका धावनमार्ग मर्मत गर्नका लागि दैनिक १० घण्टा बन्द गरिएको थियो।