काठमाडौं- जिल्ला अदालत काठमाडौंले सामाजिक अभियन्ता पुण्य गौतममाथि आक्रमणमा संलग्न दुई अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमले ४१ वर्षीय मिलन लामा भनिने दिलबहादुर गङदान र ३० वर्षीय टासी भनिने सञ्जिव लामालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश सुनाएका हुन् ।

OM Sai Pathibhara Hospital

गत असोज २१ गते राति गौतममाथि उनको घर नजिक रड प्रहार भएको थियो । सख्त घाइते अवस्थामा उनलाई छिमेकीले उद्धार गरेका थिए । उपचारपश्चात उनको अवस्था सुधारोन्मुख छ ।

सो घटनामा प्रहरीले काभ्रेपलान्चोक तेमाल घर भई भक्तपुरको च्यामासिंह बस्ने सञ्जिव लामा र रसुवा नवकुण्ड गाउँपालिका-५ घर भई काठमाडौंको गोकणर्ेश्‍वर बस्ने मिलन लामालाई असोज २४ गते पक्राउ गरेको थियो । 

उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको छ । 

पुर्पक्षका लागि बुधबार भएको बहसमा गौतमका तर्फबाट वरिष्ठ अधिवक्ता उद्धव चौलागाईं र सरकारी वकिल सीताराम अर्यालले बहस गरेका थिए ।

प्रतिवादीका तर्फबाट अधिवक्ता टंक दुलालले बहस गरेका थिए । पुण्य गौतमका नातेदारसमेत रहेका दुलालले आक्रमणको घटना नै काल्पनिक भएको दाबी गरेका थिए ।