काठमाडौं–अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावमा जित हासिल गरेको बताउँदै विभिन्न देशका नेताहरूले उनलाई बधाई दिएका छन्। औपचारिक घोषणा नभए पनि धेरै नेताहरूले ट्रम्पलाई बधाई दिन थालेका छन्।

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जालमार्फत ट्रम्पलाई पुनः अमेरिकी राष्ट्रपति बनेकोमा बधाई दिएका छन् र नेपाल-अमेरिका सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयेनले पनि ट्रम्पलाई बधाई दिँदै अमेरिका र युरोपबीच बलियो साझेदारीको अपेक्षा गरेकी छन्।

OM Sai Pathibhara Hospital

त्यसैगरी, नाटो प्रमुख मार्क रुटले ट्रम्पको पुनरागमनले गठबन्धनलाई बलियो बनाउने बताउँदै बधाई दिएका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले आगामी चार वर्ष ट्रम्पसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको ऐतिहासिक जितको प्रशंसा गर्दै मित्रताको अभिव्यक्ति गरेका छन्। चीनले अमेरिकासँग पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वको अपेक्षा गरेको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको दृष्टिकोणले युक्रेनमा न्यायोचित शान्ति ल्याउने विश्वास व्यक्त गरेका छन् भने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्रम्पको पुनरागमनलाई ऐतिहासिक ठहर गर्दै अमेरिका-इजरायल गठबन्धनलाई नयाँ सुरुवात दिने बताएका छन्।

ट्रम्पको जितसँगै अमेरिकी वित्तीय बजारमा उत्साह देखिएको छ। डलरको मूल्य बढेको छ, बिटक्वाइनले नयाँ रेकर्ड बनाएको छ, र युरोपेली शेयर बजारमा उछाल आएको छ।