काठमाडौं — देशभर विभिन्न स्थानमा जुवातास र कौडा खेलिरहेका १ सय २९ जनालाई प्रहरीले नगद र ताससहित पक्राउ गरेको छ। विभिन्न जिल्लाहरूमा जिल्ला प्रहरी कार्यालय तथा अन्य प्रहरी इकाईहरूले छापा मार्दै लाखौँ रकम र तासका बुकहरूसहित उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।
काठमाडौं महानगरपालिका-६ बौद्धमा सूर्य भन्ने राम बहादुर सुनारको घरबाट २० जनालाई, नुवाकोटको बिदुर नगरपालिका-५ मा बिनोद कुमालसहित ५ जनालाई, मुस्ताङको मार्फामा सुरज लालचनसहित १२ जनालाई, पाँचथरको फिदिम नगरपालिका-१ मा खेमनाथ अधिकारीसहित ३ जनालाई, बाँकेको नेपालगंज उपमहानगरपालिका-४ मा पृतम शाक्यसहित १४ जनालाई, नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-१५ मा खेम प्रसाद पाण्डेसहित ९ जनालाई, कैलालीको गौरीगंगा नगरपालिका-१ मा भैरब चन्दसहित २० जनालाई, कैलालीको धनगढी उपमहानगरपालिका-७ मा मुकेश चौधरीसहित ८ जनालाई, कञ्चनपुरको बेदकोट नगरपालिका-४ मा ईश्वर भट्टसहित २० जनालाई, कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ मा जियाराम चौधरीसहित १० जनालाई र बर्दियाको बढैयाताल गाउँपालिका-५ मा राजन थापासहित ८ जनालाई पक्राउ गरिएको हो।
प्रहरीले काठमाडौंको रामहिटी, नुवाकोटको पिपलटार, मुस्ताङको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्ट, पाँचथरको फिदिम, बाँकेको नेपालगंज र अन्य विभिन्न स्थानमा जुवातास र कौडा खेलिरहेका व्यक्तिहरूलाई नगद रकम र ताससहित नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट जम्मा १९ लाख ६५ हजार ४ सय ७० रूपैयाँ नगद र विभिन्न तासका बुक तथा कौडाहरू बरामद गरिएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।