काठमाडौं — वैदेशिक रोजगारी ठगी लगायतका मुद्दामा इन्टरपोलको रेड नोटिस जारी भएकी सिन्धुपाल्चोककी बिनु शाक्य पक्राउ परेकी छिन्। कम्बोडियाको एनसीबी प्नोम पेन्हको समन्वयमा उनलाई पक्राउ गरी आइतबार नेपाल फिर्ता ल्याइएको हो।
बिनु शाक्यले सिंगापुरमा रोजगारी दिलाइदिन्छु भनी ४० भन्दा बढी व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरेर फरार रहेकी थिइन्। नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपछि गत माघ १९ गते उनी र उदयपुरका सुजन आचार्यविरुद्ध रेड नोटिस जारी भएको थियो।
अन्तर्राष्ट्रिय स्तरमा खोजी गरी २०८१ असोज १ गते कम्बोडियामा पक्राउ परेका उनीहरूमध्ये सुजनलाई कात्तिक ९ गते नेपाल ल्याइएको थियो। हाल बिनुलाई कानूनअनुसार कारवाही गराउन प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ।