काठमाडौं–आज नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती स्वदेश र विदेशमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। विसं १९६६ कात्तिक कृष्ण औँसीमा जन्मिएका देवकोटाले नेपाली साहित्यलाई सयभन्दा बढी कृतिहरू प्रदान गर्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठूलो योगदान गर्नुभएको छ।

उहाँको खण्डकाव्य 'मुनामदन' नेपाली भाषाको सबैभन्दा धेरै बिक्री भएको पुस्तक हो, जसमा मानवतावाद, प्रकृतिप्रेम, र क्रान्तिकारिता झल्किन्छ। देवकोटा केवल तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य र एक दिनमै ‘कुञ्जिनी’ लेख्नसक्ने प्रतिभाका धनी थिए।

OM Sai Pathibhara Hospital

उहाँले शिक्षा तथा स्वायत्त शासनमन्त्रीको रूपमा नेपालभर नेपाली भाषालाई अनिवार्य बनाउनुका साथै त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्था गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। आर्थिक अभाव र राजनीतिक सक्रियताका बाबजुद उहाँले उच्चस्तरका साहित्य सिर्जना गरी नेपाली साहित्यलाई अद्वितीय उचाइमा पुर्‍याउनुभएको हो।

विसं २०१६ मा निधन हुनुभएका देवकोटाको सम्झनामा देशभर विविध कार्यक्रमहरूको आयोजना भइरहेको छ।