काठमाडौं–नेपाल सरकारले मन्त्रिपरिषद्को २०८१ कात्तिक १३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका किरण राणा र प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका डा. सुन्दर प्रसाद ह्योजुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
समारोहमा सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका अधिकृतहरूलाई बधाई दिएका साथै राष्ट्र, जनता र संगठन प्रति पुर्याएको योगदानको प्रशंसा गरे । उनले नेपाल प्रहरीलाई भरोसायोग्य र विश्वासयोग्य संस्थाको रूपमा उभ्याउन सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन समेत दिए ।
प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणाले संगठनको निष्ठालाई सदैव प्राथमिकता दिने दिने बताएका छन् । समारोहमा अन्य प्रहरी अधिकारीहरू, नायव महानिरीक्षक र वरिष्ठ प्रहरी अधिकृतहरूको पनि उपस्थिति रहेको थियो ।