काठमाडौं–मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त, ३८ वर्षीय गजेन्द्र वान्तवा राई, कतारमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा राईलाई कतारमा पक्राउ गरी मङ्गलबार नेपाल ल्याइएको हो।
राईले २०७८ मङ्सिर ३ गते आफ्नी पत्नी शर्मिला तामाङ राईको हत्या गरेका थिए। त्यसपछि फरार रहेका उनलाई इन्टरपोलले २०८१ जेठ ३२ गते रेड कर्नर नोटिस जारी गरेको थियो। कतारमा लुकिछिपी बस्दै आएको जानकारी पाएपछि नोटिस जारी गरी खोजी गरिएको थियो।
धुलावारी इलाका प्रहरी कार्यालयले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अभियुक्त राईमाथि थप अनुसन्धान गरिरहेको छ।