दाङ— बबई गाउँपालिका-४ मा युवकले आफ्नै पेटमा चक्कु प्रहार गर्दा मृत्यु भएको छ । बबई गाउँपालिका–४ हापुरे बजारमा डोल्मा होटेल सञ्चालन गर्दै आएका सोमार तामाङका २८ वर्षीया छोरा अनिल तामाङले आफैँलाई चक्क हान्दा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । 

मंगलबार बिहान साढे नौ बजेतिरको समयमा मादक पदार्थ सेवन गरेर बाबुसँग विवाद भएपछि अनिलले आफैँले पेटमा चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

घटना लगत्तै गम्भीर घाइते अनिललाई राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा मंगलबार बिहान पौने ११ बजेतिर अस्पतालले उहाँलाई मृत घोषणा गरेको हो । 

घटनापछि अनिलका बुवा सोमार तामाङ र उनका ३१ वर्षीय दाजु पूर्ण तामाङलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।