धादिङ – जोखिमपूर्ण तरिकाले यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका गाडीलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम जरिबाना गरेको छ । यात्रु बोक्ने अनुमति नभएको गाडीले छतमा खचाखच यात्रु बोक्ने क्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो ।

खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जीपमा जोखिमपूर्ण ढङ्गले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जीपलाई बीच बाटोमै रोकेर २० हजार रुपैयाँसम्म जरिबाना  गराइएको छ । पटकपटक सचेत गराउँदा पनि अटेर गरेकाले ती गाडीलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

OM Sai Pathibhara Hospital

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यातायात व्यवसायी, सवारी चालक र सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर सवारी सञ्चालनका विषयमा पटकपटक जानकारी गराउँदा पनि कुनै सुधार नदेखिएपछि गलत ढङ्गबाट चलिरहेका रातो नम्बर प्लेटका जिपहरु कारबाहीमा परेका हुन् ।

केही दिनयता प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसमेत फिल्डमा खटिएर बजार तथा यातायात अनुगमनलाई तीव्र पारेको छ । अनुगमन टोलीले उपभोक्ताको हितविपरीत देखिएका सबै गतिविधिको निरीक्षण गरी कारबाही गर्दै आएको छ ।