काठमाडौं— दशैं मनाउन घर फर्कनेहरुको चहलपहल बढ्न थालेको छ । तर विभिन्न ठाउँमा सडक अवरुद्ध र जीर्ण भएकाले यात्रा कष्टकर बनेको यात्रुको गुनासो छ । 

खुलेका सडकमा पनि पहिरोको जोखिम भएकाले यात्रुले ढुक्कसँग यात्रा गर्न पाएका छैनन् । बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै राजमार्ग सञ्चालनमा आए पनि बीपी राजमार्ग, कान्ति लोकपथ अझै खुलेको छैन । 

OM Sai Pathibhara Hospital

बझाङको जयपृथ्वी राजमार्ग पनि अस्ति आइतवारदेखि बन्द छ । सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडक र रामेछापको मन्थली–खुर्कोट सडक पनि खुलेको छैन । प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । 

हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाडौं, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाडौं सडक सञ्चालनमा आए पनि कान्ति राजपथ भने खुलाउन भने अझै केही दिन लाग्ने भएको छ । काठमाडौंको जीवन रेखा अर्थात लाइफ लाइनका रूपमा रहेको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ भने यसअघि नै सञ्चालनमा आइसकेका छन् । 

पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने सबैभन्दा व्यस्तमध्येको बीपी राजमार्ग खुलाउन भने अझै समस्या भएको छ । बीपी राजमार्गको रोशी खोलादेखि पूर्व–दक्षिण १२ किलोमिटरसम्म बाटो बगाएको छ । बीपी राजमार्गको सबभन्दा ठूलो विकल्पको रुपमा काठमाडौं–हेटौँडा जोड्ने सडक बनेका छन् ।

खुलेका सडकमा पनि जोखिम रहेको प्रहरीले जनाएको छ । पानी परेर भिजेका ठाउँमा फेरि पहिरो खस्ने जोखिम रहेकाले गाडीमा यात्रा गर्दा चालक, यात्रु र व्यवसायीलाई विशेष ध्यान दिन प्रहरीले आग्रह गरेको छ ।