काठमाडौं— मेक्सिकोको दक्षिणी क्षेत्रमा मेक्सिकन सेनाले गोली प्रहार गरेको गाडीमा ११ जना नेपाली नागरिक सवार रहेको र कोही पनि हताहती नभएको नेपाली राजदुतावासले जानकारी दिएको छ ।
उक्त घटनामा परेर विभिन्न देशका ६ जनाको मृत्यु भएको थियो । घटनामा ११ जना नेपाली सामान्य घाइते भएको र उनीहरू हाल मेक्सिकोको अध्यागमनको हिरासतमा रहेको अमेरिकास्थित नेपाली दुतावासले आज बिहान जारी गरेको सूचनामा जनाइएको छ । त्यस गाडीमा विभिन्न देशका ३३ आप्रवासी यात्रारत थिए ।
मेक्सिकोको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार गत मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब २५ माइल (४० किमि) उत्तरमा घटना भएको थियो।
‘मेक्सिकोको रक्षा मन्त्रालयको विज्ञप्तिअनुसार आप्रवासीहरू इजिप्ट, नेपाल, क्युवा, भारत र पाकिस्तानबाट आएका थिए। मृत्यु हुनेहरू कुन राष्ट्रका हुन् भनेर जानकारी दिइएको छैन,’ बिबिसीको अनलाइन संस्करणमा उल्लेख छ। नेपालीहरूको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
मेक्सिकोसँगको कूटनीतिक मामिला हेर्ने अमेरिकास्थित नेपाली राजदूतावासले नेपालीको मृत्यु भएको भन्ने हल्लापछि सम्बन्धित निकायमा औपचारिकरूपमा बुझेको थियो ।
तीव्र गतिमा गुडिरहेको गाडीलाई मेक्सिकन सेनाले रोक्न खोजेको तर आप्रवासीको गाडी नरोकिएपछि गोली चलाइएको थियो। गोली प्रहार गर्ने सैनिकहरू निलम्बनमा परेका छन्। मेक्सिकोबाट अवैध रूपमा आप्रवासीहरू अमेरिका प्रवेश गर्ने गरेका छन् । यसलाई रोक्न अमेरिकाले दबाब दिँदै आएको छ। गोली लागेका चारजनाको घटनास्थलमै र थप दुईजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
नेपालबाट अमेरिका जान ब्राजिल हुँदै लामो रुट प्रयोग हुने गरेको छ। विभिन्न बाटो हुँदै सुरुमा ब्राजिल पुग्ने गरेका नेपाली त्यसपछि पेरु, कोलम्बिया, पनामा, ग्वाटेमाला हुँदै मेक्सिको पुग्ने गरेका छन्। त्यसपछि उनीहरू अवैध रूपमा अमेरिका प्रवेश गर्ने गरेका छन्।