काठमाडौं–कपिलवस्तुको विजयनगर गाउँपालिका–३ अन्तर्गत पत्थरदेइया र माहादेइया गाउँमा स्यालले टोक्दा १० जना घाइते भएका छन् । बिहीबार स्यालको आक्रमणमा पत्थरदेइया गाउँका १२ वर्षीय माहाजार आलम, ५२ वर्षीय राजमती कोरी, ५५ वर्षीय जगनाथ अहिर, ५० वर्षीय भोला पासी, र १२ वर्षीय कृष्ण यादव किसन घाइते भएका हुन् ।

यस्तै, माहादेइया गाउँका ५० वर्षीय वब्बु केवट, ३५ वर्षीय शिवकुमार यादव, ५० वर्षीय मुन्नालाल चौधरी, र १५ वर्षीय अर्जुन यादव पनि घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार घाइतेलाई तत्काल अस्पतालमा पठाइएको छ भने बाँकीलाई शिवराज अस्पताल, बहादुरगञ्जमा खोप लगाइएको छ  । रेबिजको खोप अभावका कारण ४ जनालाई बुटवल पठाइएको छ । सबै घाइतेको अवस्था सामान्य रहेको छ ।