काठमाडौं–देशका विभिन्न स्थानमा प्रहरीले गरेको कारबाहीमा अवैध लागूऔषधसहित १२ जना व्यक्तिलाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरूबाट गाँजा, ब्राउनसुगर, र खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट करिब १०७ किलोग्राम गाँजासहित थाहा नगरपालिका-२ पालुङ बस्ने २४ वर्षीय सुजन तामाङलाई बिहीबार बिहान पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बा.१२ च २८८५ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा १४ वटा प्याकेटमा प्याक गरिएको गाँजा फेला पारेको हो। 

OM Sai Pathibhara Hospital

कैलालीको टिकापुर नगरपालिका-४ अस्नेरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १२० मिलिग्रामसहित २ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-१ नया बस्तीका २१ वर्षीय धुर्व साउद र २४ वर्षीय देबराज साउद रहेका छन्। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-७ स्थित बैदेही पेट्रोल पम्प अगाडि सडकबाट १० ग्राम ब्राउनसुगरसहित ५८ वर्षीय बिरेन्द्र प्रसाद साह र उनको सहयात्रीलाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय जितपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजको संयुक्त टोलीले ना.२२ प ९९९४ नम्बरको मोटरसाइकलमा वीरगंजबाट जितपुरतर्फ जाँदै गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बाँकेको खजुरा गाउँपालिका-७ बाट २ सय ४० मिलिग्राम ब्राउनसुगरसहित ३० वर्षीय रिङकु श्रीवास्तव, २३ वर्षीय हसन महोमद साई, र २४ वर्षीय फरमान खाँनलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको टोलीले रिङकु श्रीवास्तवको घरबाट पक्राउ गरेको हो।

सुनसरीको बर्जु गाउँपालिका-५ पक्कीटोलबाट २५ किलोग्राम गाँजासहित देवानगंज गाउँपालिका-१ मध्यहर्षाही बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले मोटरसाइकलमा सवार अवस्थामा उक्त किशोरलाई नियन्त्रणमा लिएको हो। फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

सिराहाको मिर्चैया नगरपालिका-२ स्थित भित्री सडकबाट ४ ग्राम २१ मिलिग्राम ब्राउनसुगरसहित २७ वर्षीय कासिन्दर मण्डललाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले उनलाई रातिको समयमा नियन्त्रणमा लिएको हो।

दाङको घोराही उपमहानगरपालिका-१४ बसपार्कस्थित दुई फरक स्थानबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। न्यू थवाङ्गी लालीगुराँस खाजा घरका संचालक २३ वर्षीय किशोर सुनारलाई १ सय ८० मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो। त्यस्तै, न्यू कोसेली खाजा घरकी संचालक ४७ वर्षीया मिना घर्ति मगरलाई पनि ३ ग्राम ८५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ। प्रहरीले पक्राउ परेका सबै विरुद्ध लागूऔषध मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।