काठमाडौं–भारतको बिहार राज्यको मुजफ्फरपुर जिल्लामा बाढी राहत सामग्री वितरण गर्ने क्रममा भारतीय वायुसेनाको हेलिकप्टरमा आगलागी भएको छ । अक्टोबर २ मा बाढी पीडितहरूलाई राहत सामग्री वितरण गरिरहेको बेला हेलिकप्टरको एउटा ब्लेड अचानक भाँचिएपछि पाइलटले आपतकालीन अवतरणको निर्णय लिएका थिए । हेलिकप्टर बाढीको पानीमा सुरक्षित रूपमा अवतरण गराइएको थियो, र घटनापछि एक भिडियो सार्वजनिक भएको छ, जसमा स्थानीयहरूले हेलिकप्टरबाट राहत सामग्री लिएको देखिन्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना मुजफ्फरपुरको घनश्यामपुर क्षेत्रमा भएको हो । हेलिकप्टरको पंखाको एउटा ब्लेड फुटेपछि पाइलटले तत्काल पानीमा अवतरण गर्नु परेको थियो । यस दुर्घटनामा कुनै मानवीय क्षति भने भएन । स्थानीय नागरिकहरूले हेलिकप्टरमा रहेका सैनिकहरूलाई सकुशल उद्धार गरे। तर, केही स्थानीयले राहत सामग्री लिएर भागेको देखिएको छ ।

OM Sai Pathibhara Hospital

भारतीय वायुसेनाले यस घटनाको छानबिनका लागि अनुसन्धानको आदेश दिएको छ । यसैबीच, बाढीको प्रभावले बिहारमा स्थिति गम्भीर बनेको छ । नेपालसँग सिमाना जोडिएका दरभंगा, सीतामढी, बेतिया, र बगाहालगायतका जिल्लामा बाढीको असरले जनजीवन अस्तव्यस्त बनेको छ । बाढीले बाँध भत्काएको र हजारौं घरहरू डुबानमा परेको अधिकारीहरूले बताएका छन् ।

बिहारमा अहिले पनि बाढीको कहर जारी छ, जहाँ १६ लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन् । सरकारले एनडीआरएफ र एसडीआरएफका टोलीहरूलाई राहत र उद्धार कार्यमा खटाएको छ । केही स्थानमा पानी घट्न थालेको भए पनि स्थिति अझै गम्भीर रहेको स्थानीय अधिकारीले जनाएका छन्।