काठमाडौं— पूर्वका सुनसरी, मोरङ, उदयपुरलगायतका जिल्लामा पानी परिरहेको छ । अहिले बिहान सुनसरीको तरहरा र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । थप पानी पर्न सक्ने भएकाले सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोलालगायतका तटीय क्षेत्रमा आज दिउँसोसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै मोरङको केराबारी वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । त्यो क्षेत्र भएर बग्ने नदी/खोलामा पानीको बहाब केही बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै उदयपुरको उदयपुरगढी वर्षामापन केन्द्रमा पनि सामान्यदेखि मध्यम वर्षा भइरहेकोले जोखिम क्षेत्रमा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । कोशी प्रदेशका विभिन्न ठाउँमा गएरातिदेखि नै पानी परेको हो ।

आज र भोलि कोशी प्रदेशसँगै बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । तर गएको शुक्रवार र शनिवारजस्तो घनघोर वर्षा हुने सम्भावना नभएकाले आत्तिनु नपर्ने मौसमविद गोविन्द झाले जानकारी दिए । 

उनका अनुसार ठूलो वर्षा भए पनि क्षणिक हुन्छ । लगातार र घनघोर पानी पर्ने सम्भावना नभएकाले धेरै आत्तिनु नपर्ने उनको भनाइ छ । तर कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन भने मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।