काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको उद्धार र राहत वितरणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विपद् प्रभावितहरूको खोज, उद्धार, र राहत कार्य दुई दिनभित्र सम्पन्न गरिने बताए ।
प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण जनताले भोगिरहेको दु:खलाई राष्ट्रिय पीडाको रूपमा लिँदै सबै नागरिक र संघ–संस्थालाई सहयोग पुर्याउन आग्रह पनि गरेका छन् । उनले घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था मिलाइएको र विपद् पछि सम्भावित स्वास्थ्य समस्याहरूको रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी गरिएको जानकारी दिए । साथै, खानेपानी, सडक, टेलिफोन र विद्युत् जस्ता आधारभूत सेवाहरू पुन: सञ्चालनका लागि सरकारले सबै आवश्यक कदम चालिरहेको उनको भनाई थियो ।
पछिल्लो जानकारी अनुसार विपद्को कारण २२६ जनाको मृत्यु, २५ जना बेपत्ता र १५९ जना घाइते भएका छन् । सबैले साझा समस्या मानेर खोज, उद्धार, राहत र सहयोगमा हातेमालो गर्नुपर्नेमा उनको जोड छ । यो पीडा सरकारको मात्रै नभएर सिङ्गो समाजको भएको उनले उल्लेख गरेका हुन् । उनले दीर्घकालीन रूपमा विपद्को सामना गर्न सक्ने सबल संरचनाहरू निर्माण गर्ने प्रतिबद्धता व्यक्त पनि व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले पूर्व तयारीभन्दा ठूलो मात्रामा आएको विपद्का कारण उद्धार र खोजमा केही कमीकमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यस्ता कमीकमजोरीहरूलाई सच्च्याउने प्रतिबद्धता जनाए । उनले विपद्को समयमा राज्य र समाजसँग भएका स्रोत र साधनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए ।