काठमाडौं– लगातारको भारी वर्षाका कारण बाढी, पहिरो, र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु १ करोडको सहयोग गर्ने निर्णय गरेको छ । सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबारको भर्चुअल बैठकमा यो निर्णय गरिएको हो । 

बैठकले उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ, जसमा विभिन्न पदाधिकारी र क्षेत्रीय संयोजकहरू समावेश छन् । 

OM Sai Pathibhara Hospital

अध्यक्ष डा. केसीले एनआरएनएले प्रभावित क्षेत्रहरूमा राहत वितरणको तयारी गरिरहेको उल्लेख गरे । ज्यान गुमाएकाहरूको श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ । 

सङ्घले प्रभावित क्षेत्रको क्षति अध्ययनका लागि सोम सापकोटा र कृष्ण तिमल्सिनासहितको समिति गठन गरेको छ, जसले प्रतिवेदन अन्तर्राष्ट्रिय परिषद् बैठकमा प्रस्तुत गर्नेछ । 

बाढी, पहिरो, र डुबानबाट काठमाडौँ, भक्तपुर, मकवानपुर, ललितपुर, काभ्रे, धादिङ, र अन्य जिल्लाका बासिन्दा प्रभावित भएका छन्। सङ्घका महासचिव गौरीराज जोशीले वार्षिक साधारणसभाको तयारीको बारेमा पनि जानकारी दिएका छन् । यो साधारणसभा आगामी कात्तिक ११ र १२ गते काठमाडौँमा आयोजना हुनेछ ।