काठमाडौं–इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजराइली सेनालाई हिज्बुल्लाहमाथि पूरा शक्ति लगाएर आक्रमण गर्न निर्देशन दिएका छन् । यद्यपि, अमेरिका लगायतका अन्य मित्र देशहरूले युद्धविरामको आग्रह गरेका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार, बिहीबार भएको इजराइली हवाई आक्रमणमा कम्तीमा ९२ जनाले ज्यान गुमाएका छन् । हिज्बुल्लाहका अनुसार लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा रहेको एक भवनमा भएको हवाई आक्रमणमा उनीहरूको ड्रोन युनिटका प्रमुख मोहम्मद सुरूरको मृत्यु भएको छ ।

OM Sai Pathibhara Hospital

बुधबार अमेरिका, बेलायत र युरोपियन युनियनले तीन हप्ताको लागि युद्धविरामको प्रस्ताव गरेका थिए । तर, बिहीबार इजराइलले यो प्रस्तावलाई अस्वीकृत गरिदिएको छ ।

न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै नेतन्याहूले भने, ‘जबसम्म हामी सबै लक्ष्यहरू पूरा गर्दैनौं, तबसम्म हामी रोक्नेछैनौं ।’ उनले गत वर्ष अक्टोबरमा हमासको हमलाको कारण देशको उत्तरी भागबाट विस्थापित भएका नागरिकहरूको सुरक्षित घर फर्किनु नै आफ्नो लक्ष्य भएको स्पष्ट पारेका छन् ।