काठमाडौं–दसैँ, तिहार र छठ पर्वका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला हुने भएको छ । यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच मङ्गलबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । 

नयाँ बसपार्क, सुन्धारा, कोटेश्वर, गौशाला र कलङ्कीलगायतका स्थानमा रहेका काउन्टरहरूबाट लामो तथा छोटो दुरीका सवारीका लागि टिकट बुक गर्न सकिने महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी गराए । उनका अनुसार अनलाइनबाट पनि टिकट बुक गर्न सकिने छ । यात्रुहरूलाई तोकिएका काउन्टरबाटै टिकट बुक गर्न उनको सुझाव छ । 

OM Sai Pathibhara Hospital

असोज ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको थियो । उक्त निर्णयपछि व्यवसायीहरू अग्रिम टिकट खुला गर्न सहमत भएका हुन् । अग्रिम टिकट खुला हुनु अगावै सडक विभाग अन्तर्गतका सबै सडकको मर्मतसम्भार गरिनेछ ।