काठमाडौं— लेबनानमा इजरायली हमला हुँदा एकै दिन दुई सय ७४ जना मारिएका छन् । ज्यान गुमाउनेमा २१ बालबालिका, ३९ महिला र दुई स्वास्थ्यकर्मी छन् । आक्रमणमा एक हजारभन्दा बढी घाइते छन् ।
स्वास्थ्यमन्त्री फिरास अबियादले इजरायली बमबारीले भाग्न खोज्नेहरूका घर, मेडिकल सेन्टर, एम्बुलेन्स र कारहरूलाई निसाना बनाएको बताए। घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्।
अलजजिराका अनुसार इजरायली आक्रमणपछि लेबनानी सिभिल डिफेन्सले ‘दक्षिणी क्षेत्र नाबातिह र बेकामा धेरै घर, कारखाना र गोदाममा’ फैलिएको आगो निभाउन काम गरिरहेको जनाएको छ। विद्यालयहरू दुई दिनका लागि बन्द गरिएका छन्।
इजरायली सेनाले लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहका अखडालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। तर, आक्रमणमा मारिएका हेजबुल्लाह लडाकुको संख्या भने उल्लेख गरेको छैन।
दक्षिणी लेबनानका तीन सय स्थानलाई लक्षित गरी आक्रमण गरिएको छ। इजरायली सेना आइडिएफका प्रवक्ता डानियल हगारीले बताएका छन्। सेनाले कब्जा गरेको उत्तरी वेस्ट बैंकमा चेतावनी साइरन बजाएको जनाएको छ।
उद्धारकर्ताले आक्रमणमा मारिएका व्यक्तिको शव निकाल्नुका साथै घाइतेलाई आवश्यक उपचारका लागि अस्पताल पठाएको सिभिल डिफेन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसअघि हराइरहेका भनिएका ५४ व्यक्तिको शव फेला पारेको सो संगठनले जनाएको छ।