काठमाडौं–युनिसेफले दक्षिणपूर्वी एसियामा चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण करिब ६० लाख बालबालिका प्रभावित भएको जानकारी दिएको छ । यागीले दुई हप्ता अघि भियतनाम, थाइल्यान्ड, लाओस र म्यानमारमा शक्तिशाली हावा र भारी वर्षा निम्त्याएको थियो ।
थाइल्यान्डले बुधबार थप तीन जनाको मृत्यु भएको पुष्टि गर्दै, यस क्षेत्रको कुल मृत्यु संख्या ५३७ पुगेको जनाएको छ । युनिसेफका अनुसार, प्रभावित बालबालिकाको स्वच्छ पानी, शिक्षा, स्वास्थ्य सेवा, खाना र आश्रयको अभावमा छन् ।
भियतनाममा पिउने पानी र सरसफाइको अभावले ३० लाख मानिसहरूलाई रोगको जोखिममा राखेको युनिसेफले जनाएको छ । म्यानमारमा बाढीका कारण चार लाख मानिसहरू विस्थापित भएका छन्, र युनिसेफले यो अवस्थालाई सीमान्तकृत समुदायका लागि गम्भीर संकटको रूपमा वर्णन गरेको छ ।
विश्व खाद्य कार्यक्रमले म्यानमारमा आपतकालीन खाद्यान्न वितरण सुरु गर्दै पाँच लाख मानिसहरूलाई एक महिनाको आपतकालीन खाद्यान्न प्रदान गर्ने जनाएको छ । युनिसेफले जलवायु परिवर्तन र मानवीय खतराले पूर्वी एसिया र प्रशान्त क्षेत्रका बालबालिकालाई व्यापक असर गरेको उल्लेख गरेको छ ।