काठमाडौं–दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको स्थानमा आम आदमी पार्टीले आतिशी मार्लेनालाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
आम आदमी पार्टीको विधायक दलको बैठकमा केजरीवालले आतिशीको नाम प्रस्ताव गरेका थिए, जसलाई सबै सांसदहरूले समर्थन गरेका हुन् । दिल्लीका यातायात मन्त्री गोपाल रायले यस निर्णयलाई कठिन परिस्थितिमा लिइएको भनेका छन् । उनले भने, ‘केजरीवालको इमान्दारितामाथि हिलो छ्यापियो । जनताले निर्वाचित नगरेसम्म उनी मुख्यमन्त्रीको कुर्सीमा बस्दैनन् ।’
निर्णयपछि आतिशीले भनिन्, ‘म मेरो गुरु अरविन्द केजरीवाल जीलाई धन्यवाद दिन्छु, जसले मलाई यति ठूलो जिम्मेवारी दिनुभयो । मलाई बधाई नदिनुहोस्, मलाई माला नलगाउनुहोस्, मेरो मनपर्ने मुख्यमन्त्रीले राजीनामा दिनु मेरो र दिल्लीका जनताका लागि दुखद क्षण हो ।’
केजरीवालले उपराज्यपाल विनय सक्सेनालाई स्थानीय समयानुसार अपराह्न ४:३० बजे राजीनामा बुझाउने छन् । त्यसपछि नयाँ सरकार गठनको प्रस्ताव पेस हुनेछ । दिल्ली सरकारले २६ र २७ सेप्टेम्बरमा २ दिने विधानसभा सत्र पनि बोलाएको छ ।
सेप्टेम्बर १३ मा मदिरा नीति मुद्दामा सर्वोच्च अदालतबाट जमानत पाएपछि केजरीवालले सेप्टेम्बर १५ मा मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए । उनले भनेका थिए, ‘अब म इमान्दार वा बेइमान निर्णय जनताले गर्नुपर्छ । जनताले दाग धोएर विधानसभा पठाए भने म फेरि कुर्सीमा बस्छु ।’