काठमाडौं–अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फ्लोरिडाको वेस्ट पाम बीच स्थित गल्फ कोर्समा भएको आक्रमणलाई हत्याको प्रयास भनेको छ । एफबीआईका अनुसार घटनाको अनुसन्धान जारी छ । ट्रम्पको सुरक्षा पूर्ण रूपमा सुनिश्चित गरिएको पनि उल्लेख गरिएको छ । 

ट्रम्पका जेठा छोरा, डोनाल्ड ट्रम्प जुनियरले घटनामा गोली हानाहान भएको र स्थानीय प्रहरीले झाडीमा एके–४७ फेला पारेको जानकारी दिएका छन् । एफबीआईले यस घटनामा संलग्न व्यक्तिहरूको पहिचान र घटनाको संपूर्ण पृष्ठभूमि छानबिन गरिरहेको जानकारी गराएको छ । 

OM Sai Pathibhara Hospital

अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यस घटनाको निन्दा गर्दै राष्ट्रपति बाइडेनले ट्रम्पको सुरक्षा सुनिश्चित गरिएको र घटनाबारे जानकारी प्राप्त भएको बताएका छन् । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति र उपराष्ट्रपतिलाई ट्रम्प इन्टरनेशनल गल्फ कोर्समा भएको घटनाबारे जानकारी गराएको छ ।

यो घटना नयाँ होइन, यसअघि पनि, गत जुलाईमा पेन्सिल्भेनियामा आयोजित एक र्‍यालीमा ट्रम्पलाई स्नाइपरले गोली हानेको थियो, जुन उनको कानको तल्लो भागमा लागेको थियो ।