काठमाडौं–जम्मु–कश्मिरमा आगामी विधानसभाको निर्वाचन नजिकिँदै गर्दा सन्दिग्ध आतङ्कवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। भारतीय सेनाले किश्तवाड जिल्लामा शुक्रबार भएको घटनालाई बहादुरको सर्वोच्च बलिदान भन्दै सामाजिक सञ्जाल एक्समार्फत श्रद्धाञ्जलि अर्पण गरेको छ।

कश्मिरमा दशकौँदेखि विद्रोही समूहले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै भारतीय सेनासँग संघर्ष गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले २०१९ मा कश्मिरको आंशिक स्वायत्तता खारेज गरेपछि यो क्षेत्र निर्वाचित सरकारबिना रहेको छ। आगामी सेप्टेम्बर १८ मा हुने निर्वाचनको परिणाम अक्टोबरमा अपेक्षित छ।