काठमाडौं–चीनका लागि जासुसी गरेको अभियोगमा एक पूर्व सीआईए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाइएको छ । ७१ वर्षीय एलेक्ज्यान्डर युक चिंग माले एक अन्डरकभर एफबीआई एजेन्टसमक्ष अमेरिकाको गोपनीय जानकारी चीनलाई बेचेको स्वीकार गरेका थिए । उनलाई सन् २०२० मा पक्राउ गरिएको थियो । 

हङकङमा जन्मिएका मा अमेरिकी नागरिक हुन् । उनले सन् १९८२ देखि १९८९ सम्म सीआईए र त्यसपछि एफबीआईमा काम गरेका थिए । अधिकारीहरूका अनुसार मा आफ्नो एक नातेदार (जो पूर्व सीआईए एजेन्ट थिए) मार्फत शंघाई स्टेट सिक्युरिटी ब्यूरोका गुप्तचर अधिकारीहरूसँग सम्पर्कमा आएका थिए । 

OM Sai Pathibhara Hospital

हङकङमा भएको एक बैठकको रेकर्ड गरिएको भिडियोमा मालाई गोपनीय जानकारीको बदलामा पाएको ५० हजार डलर नगद गनिरहेको देखिएको थियो । सन् २००४ मा हवाईमा बस्दै गर्दा उनी एफबीआईमा जोडिएका थिए ।

एफबीआईलाई पहिलैदेखि नै उनको गतिविधिमाथि शंका थियो र उनीमाथि निगरानी राख्नका लागि नै उनलाई जागिर दिएको थियो । समाचार एजेन्सी एपीका अनुसार माको नातेदार भाइ थिए, जसको निधन भइसकेको छ ।