काठमाडौं–म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। म्याग्दी जिल्ला अदालतले मंगलबार न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा सुनुवाइ गर्दै उनीहरूलाई मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म थुनामा राख्न आदेश दिएको हो ।

अदालतको आदेशअनुसार मिनाका प्रेमी राम खत्री, उनकी आमा रेनु खत्री, दाइ बिक्की खत्री, भाइ रोजन खत्री, र आफन्त श्याम खत्रीलाई म्याग्दी जिल्ला कारागारमा पठाइएको छ। उनीहरूविरुद्ध सरकारी वकिल कार्यालयमार्फत ज्यानसम्बन्धी कसुरमा अभियोग दर्ता गरिएको थियो।

OM Sai Pathibhara Hospital

मिना परियार ८ महिनादेखि बेपत्ता रहिएकी थिइन्। उनको शव साउन २७ गते गिठिनीको जङ्गलमा फेला परेको थियो। मृतकको परिवारले शवको सनाखत गरेपछि प्रहरीले किटानी जाहेरीका आधारमा अनुसन्धान गर्दा मुख्य अभियुक्त राम खत्रीले हत्या स्वीकार गरेको थियो।