काठमाडौं–इलेक्ट्रोनिक डाइभरसिटी भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा चार जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका(८ घर भई सोही नगरपालिका(४ ईमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका(१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका(५ टिकाथली बस्ने २८ वर्षीय अनिल कुमार महतो, झापा अर्जुनधारा नगरपालिका(८ घर भई ललितपुर ईमाडोल बस्ने ५० वर्षीय गोपाल प्रसाद घिमिरे र संखुवासभा खाँदवारी नगरपालिका(९ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका(५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन् ।

OM Sai Pathibhara Hospital

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अमेरिकी राजदुतावाससँगको समन्वयमा उनीहरूलाई राजदुतावास नजिकबाट पक्राउ गरेको हो । उनीहरूले एसईई र प्रविणता प्रमाणपत्रको नक्कली शैक्षिक प्रमाणपत्र, नक्कली एकेडेमिक ट्रान्सक्रिप्ट बनाई अमेरिकी भिसाका लागि आवेदन दिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।