काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपालले सामना गरिरहेका अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध र आतंकवाद जस्ता चुनौतीहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोग अपरिहार्य रहेको बताएका छन्।

शनिबार, इन्टरपोल स्थापनाको शताब्दी दिवसको अवसरमा आयोजित विशेष समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। उनले अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञता, असल अभ्यास र सूचना आदानप्रदान आवश्यक रहेको बताए।

OM Sai Pathibhara Hospital

समारोहमा गृहमन्त्रीले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘CID Magazine’ को विमोचन गरेका थिए भने प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीद्वारा लिखित ‘नेपाल प्रहरी’ गीत पनि सार्वजनिक गरिएको थियो।

यसैगरी, दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको थियो। साथै, इन्टरपोलको १००औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरीद्वारा निर्माण गरिएको “Let’s Save the Planet” विषयक भिडियो सर्वोत्कृष्ट घोषित भएकोमा भिडियो निर्माणकर्ताहरूलाई सम्मान गरिएको थियो।

गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानून कार्यान्वयनमा खेलेको भूमिकाको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहयोगलाई थप बलियो बनाउनुपर्ने बताए। परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले पनि संगठित अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोगको महत्वमा जोड दिएकी थिइन्।