काठमाडौं–सन् २०२४ का आठ महिनामा ७ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अगस्तसम्म ७२०‚३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । विशेषगरी अगस्त महिनामा विदेशी पर्यटकको आगमनमा ८.३ प्रतिशतको वृद्धि भएको छ । सो महिनामा मात्र ७२‚७१९ पर्यटक नेपाल आएका छन् ।


OM Sai Pathibhara Hospital

सन् २०२३ को अगस्तको तुलनामा यो वर्ष सोही अवधिमा ५‚५६६ बढी पर्यटक नेपाल प्रवेश गरेका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले छिमेकी देश भारत र चीनमा लक्षित पर्यटन प्रवर्द्धन कार्यक्रमले यस वृद्धिमा भूमिका खेलेको बताउनुभयो। भारतबाट २५‚८३२‚ चीनबाट ६‚६१४‚ अमेरिकाबाट ५‚६१४‚ श्रीलङ्काबाट ४‚८५१ र बङ्गलादेशबाट ३‚०७७ पर्यटक नेपाल आएका छन् ।


सन् २०२४ को मार्चमा सबैभन्दा बढी १११‚३७६ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४‚५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सरकारले सन् २०२४ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।