काठमाडौं–लामो समयदेखि काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को जग्गा‚ भवन‚ र स्टल प्रयोग गर्ने तर भाडा नबुझाउने ४७ वटा विभिन्न संस्थाहरू र व्यक्तिहरूले कुल आठ करोड दुई लाख ४९ हजार ६१९ रुपैयाँको बक्यौता तिर्न अटेर गरिरहेका छन्। 

राजनीतिक पहुँचको आडमा यसरी भाडा नतिरी बसेका यी संरचनाहरूको बक्यौता उठाउन परिषद्ले अब गम्भीर पहल सुरु गरेको छ। समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले बक्यौता उठाउने प्रशासनिक प्रक्रिया गत असार महिनामा सुरु गरेको र ३५ दिने सूचना जारी गर्न लागिएको जानकारी दिएका छन्। 

OM Sai Pathibhara Hospital

सदस्यसचिव भट्टका अनुसार २५–३० वर्ष पुरानो बक्यौता उठाउन प्रक्रिया सुरु भएको छ । यो प्रक्रिया केवल परिषद्बाट मात्रै सम्पन्न हुँदैन‚ मन्त्रीस्तरीय निर्णय र कार्यसम्पादन समितिको सल्लाह आवश्यक छ। 

उनले बक्यौता उठाउने प्रयासमा धेरै मन्त्रीहरूसँग काम गरेको तर सत्ता परिवर्तनका कारण काममा ढिलाइ भएको अनुभव सुनाए । उमा रेग्मी‚ भगवती चौधरी‚ महिन्द्र राय यादव‚ सुरेन्द्रराज आचार्य‚ पुनः भगवती चौधरी र वर्तमान मन्त्री नवलकिशोर साहसँग समन्वय गरिसकेपछि पनि प्रक्रिया लम्बिएको उनको तर्क छ । 

भट्टले अब ५० पटकभन्दा बढी पत्राचार गरिसकेपछि ३५ दिने सूचना जारी गर्न लागिएको र प्रक्रिया अघि बढाउने सकारात्मक संकेत प्राप्त भएको बताए। राजनीतिक संरक्षणकै कारण बक्यौता उठाउन ढिलाइ भएको स्वीकार गर्दै‚ अब कानुनी प्रक्रियामा जान खोज्दा ढिलाइ भएको धारणा व्यक्त गरे। गोरखापत्र दैनिकमा खबर छ । 


Data