काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको घटनामा प्रहरीले संदिग्धको फोटो सार्वजनिक गरेको छ । संदिग्धको पहिचान भने अझै खुलेको छैन ।

सीसीटीभी फुटेज अनुसार संदिग्ध स्थानीय समयानुसार शनिबार‚ अगस्ट २४ मा राति ९:४८ बजे घटनास्थलमा पुगेको देखिन्छ । फोटो सार्वजनिक भए पनि संदिग्ध पक्राउ परेको छैनन् । प्रहरीले अनुसन्धान जारी राखेको छ । संदिग्ध ती अमेरिकी युवक होइन‚ जोसँग मुना प्रेम सम्बन्धमा थिइन् ।

OM Sai Pathibhara Hospital

मुना सोमबार साँझ आफ्नो ह्युस्टनस्थित अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरी घटनास्थलमा पुग्दा उनको छातीमा गोली लागेको थियो ।

ह्युस्टन प्रहरीले घटनाका बारेमा जानकारी भएका व्यक्तिहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ । मुना नेपालको भोजपुर जिल्लाकी बासिन्दा थिइन् । उनी २०२१ मा ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनका लागि गएकी थिइन् । उनकी एकल आमा अनिता पाण्डे अधिकारी काठमाडौंमा बस्छिन् । मुना परिवारमा एक्ली सन्तान थिइन् ।

आमा अनिताले हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी कठघरामा ल्याउन अधिकारीहरूसँग अपिल गरेकी छन् । नेपाली समुदायले पनि न्याय मागिरहेका छन् ।